पाठ्यक्रम विकास केन्द्र, शिक्षा मन्त्रालय अन्तर्गत विद्यालय शिक्षाको पाठ्यक्रम, पाठ्यपुस्तक एवम् अन्य पाठ्यसामग्रीको विकास, निर्माण, परिमार्जन गरी शिक्षाको राष्ट्रिय उद्देश्य प्राप्तिमा ठोस सहयोग पुर्याउनका लागि स्थापित केन्द्रीय प्राविधिक कार्यालय हो । यसको स्थापना २०२८ साल भदौ ५ गते पाठ्यक्रम, पाठ्यपुस्तक तथा निरीक्षण विकास केन्द्रका रूपमा भएको हो । भक्तपुर जिल्लाको सानोठिमीस्थित यस केन्द्रले पाठ्यक्रम, पाठयपुस्तक, शिक्षक निर्देशिका, बालसन्दर्भ सामग्री, विद्यार्थी मूल्याङ्कन सामग्री जस्ता शैक्षिक सामग्रीहरू निरन्तर रूपमा विकास निर्माण गरिआएको छ । यसका साथै विद्यालय शिक्षालाई समसामयिक, व्यावहारिक र प्रतिस्पर्धी बनाउनका लागि केन्द्रले नुसन्धानमूलक कार्यहरू पनि निरन्तर रूपमा गरिआएको छ । केन्द्रले विकास, निर्माण तथा परिमार्जन गरेका सामग्रीको प्रयोग र उपादेयताका सम्बन्धमा वार्षिक तथा आवधिक रूपमा छलफल, अन्तरव्रिmया, प्रबोधीकरण जस्ता पाठ्यक्रम पनि सञ्चालन गरिआएको छ । राष्ट्रप्रेमी, व्यावहारिक जनशक्ति निर्माणका लागि विद्यालय शिक्षालाई अझ बढी प्रभावकारी र प्रतिस्पर्धि बनाउन व्यावहारिक पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास तथा निर्माण गर्नु यसका लागि हौसलाजन्य चुनौतीको रूपमा रहेको छ । यसका लागि व्यक्तिगत, सामाजिक, राष्ट्रिय र अन्तरराष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न सक्षम नागरिक निर्माण गर्नु आवश्यक छ । चुनौतीहरूको हज, स्वस्फूर्त र प्रभावकारी सामना गर्न सक्षम हुने पूर्वसजग, सचेत र सबल नागरिक निर्माणका लागि आधारस्तम्भका रूपमा रहेको विद्यालय शिक्षामा विद्यार्थीको आवश्यकता तथा रुचिका बीचमा सामानजस्य कायम गरी शिक्षण सिकाइ क्रियाकलापलाई विद्यार्थीमुखी बनाउने दिशामा केन्द्र कृतसङ्कल्पित छ ।





