केन्द्रको वर्तमान सङ्गठन संरचनाअनुसार विद्यालय शिक्षाको सामाजिक शिक्षा/सामाजिक अध्ययन शिक्षणसिकाइका लागि पाठ्यक्रम, पाठ्यपुस्तकलगायतका शैक्षिक सामग्री विकास, निर्माण, परिमार्जन, सुधार तथा लागू गर्नु यस केन्द्रको मुख्य जिम्मेवारी हो । यस शाखाका कार्यहरू निम्नानुसार हुने छन्:
- सामाजिक शिक्षा/सामाजिक अध्ययन विषयका सम्बन्धमा अध्ययन अनुसन्धान गरी आवश्यकता र सम्भाव्यताका आधारमा पाठ्यक्रम विकास, निर्माण र परिमार्जन गर्ने,
- सामाजिक शिक्षा/सामाजिक अध्ययन विषयका पाठ्यक्रमका आधारमा पाठ्यपुस्तकहरू तयार गर्ने गराउने,
- मानविकी तथा सामाजिक शास्त्रसंग सम्बन्धित विषयको पाठ्यक्रम, पाठ्यपुस्तक लगायत पाठ्यक्रमसम्बद्ध सामग्रीहरूसम्बन्धी कार्य गर्ने गराउने,
- सामाजिक शिक्षा/सामाजिक अध्ययन विषयका प्राज्ञिक र दक्ष व्यक्तिहरूको नाम नामेसीसहितको विवरण (रोस्टर) तयार गर्ने,
- सामजिक शिक्षा/सामाजिक अध्ययन विषयहरूको पारस्परिक अन्तरसम्बन्धका विषयमा अध्ययन विश्लेषण गर्ने गराउने,
- विषयको तहगत र कक्षागत लम्बीय र समतलीय अन्तरसम्बन्धको विश्लेषण गरी तथ्यहरू अभिलेख गर्ने
- यी विषयका शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउनका लागि शिक्षक निर्देशिका, श्रव्यदृश्य सामग्री, प्रयोगात्मक पुस्तिकालगायतका आवश्यक सामग्री निर्धारण गरी विकास, निर्माण गर्ने र तिनको कार्यान्वयन गर्ने गराउने,
- विद्यालय शिक्षामा यी विषयको विकास र प्रभावकारिताका लागि सम्बद्ध पक्ष तथा निकायसंग स्वीकृत नीतिअनुसार सहयोग र सम्बन्ध विस्तार गर्ने,
- आफ्नो शाखा सम्बद्ध विषयका विषय समिति गठनका लागि सम्भावित नामावली पेस गर्ने,
- शाखाबाट तयार गरिएका पाठ्यक्रम, पाठ्यपुस्तक तथा अन्य पाठ्यसामग्रीहरूका सम्बन्धमा सम्बन्धित विषयका सरोकारवालाहरूको कार्यशाला, गोष्ठी, सेमिनारद्वारा पृष्ठपोषण सङ्कलन गर्ने,
- तयार गरिएका सामग्रीहरू सम्बन्धित विषय समितिमा छलफल गराई अन्तिम रूप दिने,
- विषय समितिबाट प्राप्त रायसुझाव समायोजन समन्वय समितिमा पेस गर्ने,
- यी विषयका शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी तथा सान्दर्भिक बनाउन राष्ट्रिय तथा अन्तरराष्ट्रियसतरका नयाँ उन्नयन तथा प्रवर्तनका सम्बन्धमा परीक्षण, मूल्याङ्कन र योजना तथा अनुसन्धान शाखासमेतबाट नियमित रूपमा जानकारी लिई सोको अध्ययन विश्लेषण गरी नतिजा कार्यान्वयनका लागि प्रस्ताव पेस गर्ने,
- यी विषयका विकास र विस्तारका लागि राष्ट्रिय विकास तथा मूल्याङ्कन परिषद्बाट भएको मार्गदर्शन तथा नीतिनिर्देशन कार्यान्वयन गर्ने,
- यी विषयमा तयार गरिएका पाठ्यक्रम, पाठ्यपुस्तक तथा अन्य सामग्रीको पाण्डुलिपि सम्पादन तथा प्रकाशनका लागि केन्द्रको सम्पादन तथा प्रकाशन शाखामा पठाउने,
- विद्यालय शिक्षामा यी विषयका विकास र विस्तारका लागि आवधिक योजना र वार्षिक कार्यक्रम तथा लागत अनुमान तयार गरी परीक्षण, मूल्याङ्कन र योजना तथा अनुसन्धान शाखामा तोकिएको अवधिभित्र पठाउने,
- पाठ्यक्रम विकास केन्द्रबाट विकास निर्माण गरिने आफ्नो शाखासंग सम्बन्धित सबै प्रकारका मुद्रणीय तथा इलेक्ट्रोनिक सामग्रीहरूको विषयवस्तु सम्पादन गर्ने,
- आफ्नो शाखासंग सम्बन्धित कार्यका सम्बन्धमा मासिक रूपमा तथा आवश्यकतानुसार भएगरेका प्रगति तथा समस्याका विषयमा स्पष्ट हुने गरी तोकिएअनुसारको ढाँचामा प्रगति प्रतिवेदन तयार गरी कार्यकारी निर्देशकसमक्ष पेस गर्ने तथा सोको एक प्रति परीक्षण, मूल्याङ्कन र योजना तथा अनुसन्धान शाखामा पठाउने,
- पाठ्यक्रमसम्बन्धी गतिविधि सञ्चालन गर्दा नेपालको भाषिक, धार्मिक, लैङ्गिक, जातीय र भौगोलिक विशेषताहरूलाई सम्बोधन गर्ने,
- स्थानीय पाठ्यक्रम निर्माण गर्दा प्रचलित नियम, नीतिनिर्देशन र कार्यक्रमका आधारमा विकास निर्माण गरी कार्यान्वयन गर्ने गराउने,
- सामाजिक शिक्षा/अध्ययनसंग सम्बन्धित शैक्षिक सामग्रीको स्वीकृतिका लागि सिफारिस गर्ने गराउने,
- आफ्नो शाखासंग सम्बन्धित विषयमा सम्बद्ध सरोकारवालाले माग गरेका जानकारीहरू उपलब्ध गराउने,
- राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद् र कार्यकारी निर्देशकले तोकेका अन्य कार्यहरू गर्ने ।





